रामपुर साना शहरी खानेपानी संस्थाको सर्वपक्षीय छलफल सम्पन्न

रमा भण्डारी रामपुर, पाल्पा
प्रकाशित : २०८२ साउन २० गते १२:०३

साउन १८, रामपुर पाल्पा — रमा भण्डारी

रामपुर साना शहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको तेस्रो अधिवेशनको सन्दर्भमा सर्वपक्षीय छलफल कार्यक्रम सम्पन्न भएको छ। संस्थाका अध्यक्ष राजुप्रसाद श्रेष्ठको अध्यक्षतामा रामपुरस्थित होटल श्रीनगरको सभाहलमा कार्यक्रम आयोजना गरिएको हो।

कार्यक्रमका प्रमुख अतिथि रामपुर नगरपालिकाका नगरप्रमुख रमणबहादुर थापाले पवित्र र अत्यावश्यक सेवा दिने संस्थामा सकेसम्म सर्वसम्मतिका आधारमा नेतृत्व चयन गर्न आग्रह गर्नुभयो। उहाँले सहमति हुन नसकेमा लोकतान्त्रिक माध्यमबाट समिति चयन गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो। साथै, खानेपानी योजना निर्माण गर्दा बाटोको मापदण्डलाई ध्यान दिनुपर्ने र नगरपालिका सधैं संस्थाको विकासका लागि साथ दिन तयार रहेको पनि बताउनुभयो।

संस्थाका अध्यक्ष राजुप्रसाद श्रेष्ठले आफ्नो कार्यकालमा ९३७ वटा नयाँ धारा जडान गरिएको जानकारी दिँदै मासिक महसुल २७५ बाट घटाएर न्यूनतम १७५ कायम गरिएको बताए। उहाँले हाल संस्थाको बैंक मौज्दात ४ करोड ६९ लाख रुपैयाँ रहेको र नगर विकास कोषलाई ५ करोडभन्दा बढी ऋण तिर्न बाँकी रहेको जानकारी गराउनुभयो। उहाँका अनुसार नयाँ परियोजनाको डीपीआर तयार भइसकेको छ, जसले सम्पन्न भएपछि २० वर्षका लागि पर्याप्त पानी आपूर्ति गर्नसक्नेछ र करिब ७ हजार नयाँ धारा जडान सम्भव हुनेछ।

कार्यक्रममा लुम्बिनी प्रदेश सभा सदस्य तथा अर्थ, उद्योग र पर्यटन समिति सभापति राजु श्रेष्ठले रामपुरलाई ‘नमुना र उज्यालो सहर’ बनाउन दृढ संकल्पका साथ कार्य भइरहेको बताउनुभयो।

रामपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तथा निर्वाचन मण्डल संयोजक सूर्यदर्शन पाण्डितले पनि नेतृत्व चयनमा सर्वसम्मतिको पहल गर्न आग्रह गर्दै सहमति नबने निर्वाचनको तयारी रहेको बताए।

अन्य वक्ताहरु — पूर्व प्रदेश सभा सदस्य युबराज खनाल, वडा नं ५ का अध्यक्ष दुर्गाप्रसाद पोखरेल, उद्योग वाणिज्य संघ अध्यक्ष भोजेन्द्रप्रकाश ढकाल, जेष्ठ नागरिक संघ अध्यक्ष देबराज ढकाल, संस्थापक अध्यक्ष कमलराज भट्टराई, नेपाली कांग्रेस रामपुर नगर सभापति नेत्रप्रसाद भट्टराई, नेकपा एमाले अध्यक्ष लिलबहादुर गाहा, माओवादी केन्द्र अध्यक्ष भीमबिश्व भट्टराई, रास्वपाका अर्जुनप्रसाद श्रेष्ठ, एकीकृत समाजवादीका फणेस्वर गौतम र जनमोर्चाका रामप्रसाद गैरे — सबैले सहमतिको आधारमा योग्य र निस्वार्थ नेतृत्व चयन गर्न जोड दिएका थिए।

कार्यक्रमको स्वागत उपाध्यक्ष हजुल्दिन मियाँले, सञ्चालन सचिव सालिकराम सिग्देलले र धन्यवाद ज्ञापन कोषाध्यक्ष विष्णुमाया ढकालले गर्नुभएको थियो।

छलफल कार्यक्रममा जनप्रतिनिधि, राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिहरू, उपभोक्ता समितिका पदाधिकारी, विभिन्न संघसंस्था तथा सञ्चारकर्मीहरूको उल्लेख्य उपस्थिति थियो।

 

 

फोटो फिचर


प्रकाशित : २०८२ साउन २० गते १२:०३


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology