असोज २५, रामपुर (पाल्पा) — रमा भण्डारी
रामपुरमा आइतबारदेखि सुरु हुन लागेको वाइवाइ तेस्रो ज्योतिपुञ्ज कप फुटबल प्रतियोगिताका सबै तयारी पूरा भएका छन्। जिल्लाकै सर्वाधिक पुरस्कार राशीसहितको यो प्रतियोगिता आगामी कार्तिक ३ गतेसम्म सञ्चालन हुनेछ।
आयोजक ज्योतिपुञ्ज युवा क्लबले शनिबार पत्रकार सम्मेलनमार्फत सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएको हो। सो अवसरमा क्लबले प्रतियोगिताको ट्रफी र जर्सी सार्वजनिक गरेको थियो। कार्यक्रममा क्लबका अध्यक्ष सुन्दर राना, खेल संयोजक अनिल शाही, पूर्वअध्यक्ष सुदिप गौतम, टिम कोच केशव श्रेष्ठ र टिम कप्तान विजय मल्लको उपस्थिति रहेको थियो।
कालीगण्डकी बेसिका क्षेत्रमा सबैभन्दा ठूलो प्रतियोगिताका रूपमा परिचित ज्योतिपुञ्ज कप “फुटबल खेल मैदान निर्माणको अभियान : रामपुरको गौरवमा तपाईंको योगदान” भन्ने नाराका साथ सञ्चालन हुन लागेको हो।
खेल संयोजक शाहीका अनुसार प्रतियोगितामा ए डिभिजन क्लब हिमालयन शेर्पासहित १० समूह सहभागी हुनेछन्। उद्घाटन खेल आइतबार दिउँसो १ बजे अभिषेक चर्च नवलपुर र न्यू युथ युनियन क्लब तानसेनबीच हुनेछ।
प्रतियोगिताको विजेताले रु. ३ लाख ५० हजार सहित ट्रफी प्राप्त गर्नेछन् भने उपविजेताले रु. २ लाख पाउनेछन्। सेमिफाइनलमा पराजित टोलीहरूलाई जनही रु. २५ हजारका दरले पुरस्कार दिइनेछ।
आर्थिक समिति संयोजक सुदिप गौतमका अनुसार प्रतियोगिता सञ्चालनका लागि करिब रु. ३० लाख खर्च हुने अनुमान गरिएको छ।
दर्शकका लागि पनि विशेष व्यवस्था गरिएको छ। १० वर्षमुनिका बालबालिका, अशक्त र ज्येष्ठ नागरिकहरूलाई निःशुल्क प्रवेश दिइनेछ भने अन्यका लागि प्रवेश शुल्क तोकिएको छ।
खेलका लागि किसानबारी खेल मैदानलाई घेराबारसहित व्यवस्थित पारिएको क्लबले जनाएको छ। दर्शकका लागि अस्थायी प्यारापिट निर्माण गरी खेल अवलोकन सहज बनाइएको छ।
क्लबका अध्यक्ष सुन्दर रानाको अध्यक्षतामा तथा सल्लाहकार धु्रव पोखरेलको सञ्चालनमा पत्रकार सम्मेलन सम्पन्न भएको थियो।
प्रकाशित : २०८२ असोज २५ गते २२:३५
Facebook Comment