सामुदायिक रेडियो रामपुरको १७औँ वार्षिकोत्सव भव्यताका साथ सम्पन्न

रमा भण्डारी रामपुर, पाल्पा
प्रकाशित : २०८२ कार्तिक २९ गते १३:४४


कार्तिक २६, रमा भण्डारी, रामपुर पाल्पा

सामुदायिक विकास केन्द्रद्वारा सञ्चालित सामुदायिक रेडियो रामपुर एफएम १०३.६ मेगाहर्जले आफ्नो १७औँ वार्षिकोत्सव विविध कार्यक्रमसहित भव्यताका साथ मनाएको छ। २०६५ साल कार्तिक २६ गते परीक्षण प्रसारण सुरु गरेको रेडियोले आज १७ वर्ष पूरा गरेको अवसरमा विशेष कार्यक्रम आयोजना गरिएको हो।

“सूचना र सञ्चार समुदायको आवाज” भन्ने लक्ष्यसहित स्थापना भएको रेडियो रामपुरले गाउँ–गाउँका आवाजलाई जोड्दै समाज रूपान्तरणमा महत्वपूर्ण योगदान पुर्‍याउँदै आएको छ। विभिन्न चुनौती र आरोह–अवरोह पार गर्दै १७ वर्षको यात्रामा प्रवेश गरेको रेडियोले आगामी दिनमा प्रविधिसँगै अघि बढ्ने प्रतिवद्धता व्यक्त गरेको छ।

कार्यक्रम संचालक समितिका अध्यक्ष राजेन्द्र प्रसाद लम्सालको अध्यक्षतामा सम्पन्न भएको समारोहका मुख्य अतिथि लुम्बिनी प्रदेशसभा सदस्य तथा अर्थ, उद्योग र पर्यटन समिति सभापति राजु प्रसाद श्रेष्ठ हुनुहुन्थ्यो। मुख्य अतिथि श्रेष्ठले पानसमा बत्ती बालेर कार्यक्रम उद्घाटन गर्दै डिजिटल युगको आवश्यकताअनुसार रेडियोलाई नयाँ प्रविधिसँग जोड्नुपर्नेमा जोड दिनुभयो।
श्रेष्ठले भन्नुभयो, “सपना देख्न सके पूरा हुन्छ। अहिले विश्वमा डिजिटल प्रविधिको तीव्र विकास भएको छ। समयमै प्रविधि अपनाउन नसके पछि पर्ने अवस्था आउँछ। केही प्रविधिको गलत प्रयोगले भ्रम फैलिएको छ, त्यसैले रेडियोले सत्यतथ्य सूचना प्रसारण गर्दै भ्रम चिर्नुपर्ने छ।”

उपाध्यक्ष छायाचन्द्र पंगेनीको स्वागत मन्तव्यपछि अध्यक्ष लम्सालले रेडियोको वर्तमान अवस्था, उपलब्धि र भावी योजनासहितको प्रतिवेदन प्रस्तुत गर्नुभयो।
त्यस्तै संविधानसभा सदस्य राधाकृष्ण कँडेलले नयाँ पुस्ताको रुचिअनुसार कार्यक्रम उत्पादन गर्दै समुदायसँगै अघि बढ्नुपर्ने विचार राख्दै प्रविधिको विकाससँगै सचेत रूपमा अघि बढ्नुको विकल्प नभएको बताउनुभयो।

कार्यक्रममा सामुदायिक रेडियो रामपुरका पूर्व अध्यक्ष ऋषिराम भट्टराई, पूर्व उपाध्यक्ष हुमनाथ न्यौपाने, नेपाली कांग्रेस रामपुर नगरसभापति नेत्र प्रसाद भट्टराई, नेकपा एमाले नगर कमिटी अध्यक्ष लिल बहादुर गाहा, नेकपा माओवादी केन्द्र रामपुर अध्यक्ष भिमविश्व भट्टराई, एकीकृत समाजवादीका अध्यक्ष फणेश्वर गौतम, निस्दी–५ का वडा अध्यक्ष दुर्गा सोमै, रामपुर–५ का वडा अध्यक्ष दुर्गा प्रसाद पोखरेल, रामपुर–३ का वडा अध्यक्ष दामोदर पाठक लगायतले प्रविधिको प्रभावकारी उपयोग गर्दै रेडियोलाई समयअनुकूल अगाडि बढाउन सुझाव दिएका थिए।

कालीगण्डकी सामुदायिक विकास केन्द्रका अध्यक्ष देवेन्द्र प्रसाद पोखरेलले संस्थाको ऐतिहासिक पृष्ठभूमिबारे जानकारी गराउनुभयो।
कोषाध्यक्ष यदुनाथ खनालले आर्थिक प्रतिवेदन, बजार व्यवस्थापक शोभाकान्त पाठकले लेखा प्रतिवेदन प्रस्तुत गर्नुभयो। त्यस्तै निमित्त स्टेशन व्यवस्थापक सृजना घिमिरेले रेडियोको वर्तमान अवस्था, चुनौती र भावी योजनाबारे विस्तृत प्रतिवेदन पेश गर्नुभयो।

वार्षिकोत्सवमा सूर्यदय कृषि सहकारी संस्थाले रेडियोको लोगो अंकित टी–सर्ट प्रदान गरेको थियो। सो अवसरमा करिब ५० जना व्यक्ति आजीवन तथा विशिष्ट आजीवन सदस्य बनेका थिए।

कार्यक्रममा राष्ट्रिय कलाकार लक्ष्मी तिवारीले रेडियोमाथि आधारित गीत प्रस्तुत गर्नुभयो। एकादशी महिला समूह रामपुर–८ का दुर्गादेवी आचार्यको समूहले भजन–कीर्तन, विद्यार्थीहरूले विभिन्न प्रतिभा प्रस्तुति तथा साहित्यकार मित्रलाल गौतमले कविता वाचन गर्नुभएको थियो।

कार्यक्रमको सञ्चालन स्टेशन प्रमुख पवित्रा घिमिरे सृजनाले गर्नुभएको थियो। उपाध्यक्ष प्रेमबहादुर पोखरेलले धन्यवाद ज्ञापन गर्दै कार्यक्रम समापन गर्नुभयो।
कार्यक्रम रेडियो रामपुरको प्राङ्गणमा सम्पन्न गरिएको थियो।


फिचर पोस्ट


प्रकाशित : २०८२ कार्तिक २९ गते १३:४४


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology