मंसिर ५, रमा भण्डारी • रामपुर, पाल्पा
रामपुर नगरपालिका–६ स्थित दरैठाँटी माध्यमिक विद्यालयमा रोटरी क्लब अफ रामपुर, पाल्पाले निर्माण गरेको छात्रा शौचालय शुक्रबार एक औपचारिक समारोहबीच विद्यालयलाई हस्तान्तरण गरिएको छ।
विद्यालयसँगको सहकार्यमा निर्माण सम्पन्न गरिएको छात्रा–मैत्री शौचालयको साँचो प्रमुख अतिथि तथा क्लबका संस्थापक अध्यक्ष राजु प्रसाद श्रेष्ठ (सभापति, लुम्बिनी प्रदेश अर्थ, उद्योग तथा पर्यटन समिति) ले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मधु पंगेनी र विद्यालयका प्रधानाध्यापक सुन्दर प्रसाद देवकोटालाई हस्तान्तरण गर्नुभयो।
कार्यक्रम रोटरी क्लब अफ रामपुरका अध्यक्ष गोविन्द प्रसाद देवकोटाको अध्यक्षतामा सम्पन्न भयो। प्रमुख अतिथि श्रेष्ठले रोटरी क्लब सामाजिक सेवा क्षेत्रमा क्रियाशील विश्वसनीय संस्थाको रूपमा स्थापित भइसकेको उल्लेख गर्दै शिक्षा, स्वास्थ्य तथा वातावरण संरक्षणजस्ता क्षेत्रमा क्लबको निरन्तर सक्रियता रहने बताए। आगामी दिनमा अझ प्रभावकारी सामाजिक परियोजना अघि बढाउने योजनाबारे पनि उनले जानकारी गराए।
रामपुर नगरपालिका प्रमुख रमण बहादुर थापाले सेवा भावना बोकेर काम गर्ने संस्थाहरूसँग सहकार्य गर्दै नगर विकासमा अघि बढ्न आफूहरू प्रतिबद्ध रहेको बताए। उनले रोटरीजस्ता सामाजिक संस्थाको भूमिकालाई अत्यन्त महत्वपूर्ण भएको उल्लेख गरे।
विद्यालयका प्रधानाध्यापक सुन्दर प्रसाद देवकोटाले छात्राहरूको स्वास्थ्य र मर्यादालाई ध्यानमा राखी निर्माण गरिएको संरचनाले विद्यालयलाई ठूलो राहत हुने बताउँदै क्लबप्रति आभार व्यक्त गरे।
त्यसैगरी वडा अध्यक्ष दिवाकर देवकोटाले निस्वार्थ सेवाभाव घट्दै गएको वर्तमान समयमा क्लबले गरेको काम प्रशंसनीय भएको टिप्पणी गरे।
कार्यक्रममा क्लबका पूर्व अध्यक्षहरू रुद्र नारायण श्रेष्ठ, सागर प्रसाद देवकोटा, कृर्तिनाथ श्रेष्ठले समेत क्लबका गतिविधिहरूमाथि प्रकाश पारे।
चार लाख १२ हजार रुपैयाँ लागतमा बनेको छात्रा शौचालयमा स्वच्छ पानीको सुविधा तथा प्याड डिस्पोज प्रणालीसमेत व्यवस्था गरिएको क्लबले जनाएको छ। यसमा क्लबको दुई लाख तथा विद्यालयतर्फबाट दुई लाख १२ हजार रुपैयाँ बराबरको लागत साझेदारी भएको हो।
कार्यक्रम इलेक्ट प्रेसिडेन्ट राधिका भण्डारीको स्वागत तथा सह–कोषाध्यक्ष भुवन अर्यालको सञ्चालनमा सम्पन्न भएको थियो।

प्रकाशित : २०८२ मंसिर ६ गते १९:४५
Facebook Comment