जिल्ला स्तरीय जूनियर तथा युवा रेडक्रस गोष्ठी रामतुलसी विद्यालय, रामपुरमा सम्पन्न

रमा भण्डारी रामपुर, पाल्पा
प्रकाशित : २०८२ मंसिर ७ गते २०:२५

 


मंसिर ६, रमा भण्डारी, रामपुर पाल्पा
नेपाल रेडक्रस सोसाइटी पाल्पा जिल्ला शाखाद्वारा आयोजित जिल्ला स्तरीय जूनियर तथा युवा रेडक्रस सर्कल गोष्ठी रामपुरमा सम्पन्न भएको छ। रामतुलसी माध्यमिक विद्यालयमा सम्पन्न उक्त गोष्ठीको आयोजना जूनियर रेडक्रस सर्कल, युवा रेडक्रस सर्कल तथा रामपुर–पाल्पाको संयुक्त पहलमा गरिएको हो।

कार्यक्रमका मुख्य अतिथि लुम्बिनी प्रदेश अर्थ, उद्योग तथा पर्यटन समिति सभापति राजु प्रसाद श्रेष्ठ रहनुहुन्थ्यो। विद्यालयका प्रधानाध्यापक बालकृष्ण लम्सालको स्वागत मन्तव्यबाट कार्यक्रम सुरु भएको हो। मुख्य अतिथि श्रेष्ठले सातवटा मैनबत्ती बालेर गोष्ठीको उद्घाटन गर्नुभयो।

उद्घाटनका क्रममा प्रमुख अतिथि श्रेष्ठले रेडक्रसको कार्यक्रम पहिलो पटक जिल्लाबाहिर सञ्चालन हुन पाएकोमा खुशी व्यक्त गर्दै प्राकृतिक विपत्ति, आकस्मिक दुर्घटना तथा संकटका क्षणमा सबैभन्दा पहिले सम्झिने नाम रेडक्रस भएकाले यस्ता संस्थाहरूलाई गाउँ–बस्तीमा विस्तार गर्नु अत्यावश्यक भएको बताउनुभयो।
जे उद्देश्यले कार्यक्रम गरिएको हो, त्यो पूरा हुनेमा म विश्वस्त छु,” उहाँले भन्नुभयो।

रामपुर नगरपालिकाका नगरप्रमुख रमण बहादुर थापाले पनि बोलेर मात्र होइन, व्यवहारमै सक्रिय हुनुपर्नेमा जोड दिनुभयो। उहाँले रेडक्रसले देशभर प्राकृतिक विपत्ति न्यूनीकरण, सहयोग तथा प्राथमिक उपचारमा महत्वपूर्ण भूमिका खेलिरहेको उल्लेख गर्दै नगरका सबै विद्यालयमा रेडक्रस र स्काउट गठन गरिने जानकारी दिनुभयो। आवश्यकताअनुसार नगरपालिकाले सधैँ सहयोग गर्ने प्रतिवद्धता पनि व्यक्त गर्नुभयो।

अन्तर्राष्ट्रिय वी.पी. चिन्तन प्रतिष्ठानका केन्द्रीय अध्यक्ष सन्दीप रानाले सेवाभाव, नैतिकता र असल चरित्र निर्माणमा रेडक्रस महत्त्वपूर्ण संस्था भएको बताउँदै यस्ता कार्यक्रमहरू विद्यालय–विद्यालयमा विस्तार गर्नु आवश्यक रहेको उल्लेख गर्नुभयो।

कार्यक्रममा डा. स्मृति गौतमले सहभागीहरूलाई पोषणसम्बन्धी महत्वपूर्ण जानकारी प्रदान गर्नुभयो।
विद्यार्थी सुवेच्छा न्यौपाने र शिवानी पाण्डेले रेडक्रसका उद्देश्य, भूमिका र संरचनाबारे प्रस्तुति राखेका थिए।

नेपाल रेडक्रस सोसाइटी पाल्पाका कार्यकारी निर्देशक विनोद भारतीले कार्यक्रमको उद्देश्य, भावी योजना तथा २ दिने गोष्ठीसम्बन्धी कार्यपत्र प्रस्तुत गर्नुभयो।
कार्यक्रमको अध्यक्षता विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विशाल श्रेष्ठले गर्नुभयो भने सञ्चालन शिक्षक लेखनाथ मरासिनीले गर्नुभएको थियो।

कार्यक्रमसँगै आयोजित रक्तदान कार्यक्रममा २० जनाले रक्तदान गरेका छन्।


फिचर पोस्ट

                 सूचना ! सूचना !! सूचना !!!


प्रकाशित : २०८२ मंसिर ७ गते २०:२५


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology