मंसिर ९, रमा भण्डारी, रामपुर पाल्पा
रामपुर नगरपालिकाको आयोजनामा राम–सीता विवाह उत्सव आज भव्यता र धुमधामका साथ सम्पन्न भएको छ। प्रत्येक वर्ष मार्गशीर्ष शुक्ल पञ्चमीका दिन मनाइने विवाह पञ्चमी पर्व यस वर्ष पनि भगवान् श्रीराम र सीताको पूजा–आराधनासहित प्रतीकात्मक रूपमा विवाह गराइ सुसम्पन्न भएको हो।
त्रेतायुगमा यही दिवसमा मिथिलाको जनकपुरधाममा राजा जनककी छोरी सीता र अयोध्याका राजकुमार रामको विवाह भएको धार्मिक मान्यताका आधारमा आज देशभर यो पर्व मनाइन्छ। शिवधनुष भंग गरी स्वयंवर जितेपछि राम–सीताको पवित्र गठबन्धन बाँधिएको जनविश्वास छ। यही प्रसंगलाई स्मरण गर्दै रामपुरमा पनि आज विशेष उत्सव गरिएको हो।
रामपुर नगरभित्र रहेका भगवान् राम–सीतासँग सम्बन्धित ऐतिहासिक र धार्मिक स्थलहरूको संरक्षण र प्रवद्र्धन गर्ने उद्देश्यले यस वर्ष रामपुर नगरपालिकाले विवाह उत्सवलाई विशेष कार्यक्रमका रूपमा मनाएको छ।
आज विहान ७ बजे भगवान् रामले वनवासको क्रममा स्नान गरेको भनिने कालिगण्डकी तटस्थित रामघाटमा पूजा–आराधना गरिएको थियो। त्यसपछि विहान ९ बजे को साइतमा बाजागाजासहित बेहुला पक्षको जन्ती जुलुस रामघाटबाट निस्किएको थियो। स्थानीय विभिन्न जातजाति, संस्कृतिसहित आफ्ना परम्परागत पोशाकमा सजिएर सहभागिता जनाउँदै जन्तीको शान झनै बढाएका थिए। बाजागाजाको गुञ्जनसँगै रामपुर आज एक भव्य सांस्कृतिक–धार्मिक रंगमञ्चमा परिवर्तित भएको थियो।
विवाह उत्सवमा वडा नं. ५ बेहुला पक्षको रूपमा सहभागी हुँदा वडा नं. ३ र ४ का स्थानीयवासी तथा सरोकारवाला माइती पक्ष भएर जन्तीको स्वागतमा उभिएका थिए। जन्तीलाई सीताकुण्डमा विशेष सम्मानसहित स्वागत गरिएको थियो, जहाँ जनविश्वासअनुसार सीता रजस्वला भएकै समयमा भगवान् रामले वाण प्रहार गरी पानी निकालेर स्नान गर्ने व्यवस्था मिलाइ दिएको उल्लेख पाइन्छ।
त्यस्तै, रामपुरका महत्वपूर्ण धार्मिक स्थल रामघाट, रामचुल्हो, राम्चे, रामकुवा आदि स्थानमा पनि विशेष कार्यक्रमहरू सम्पन्न भएका थिए। यिनै स्थलहरू त्रेतायुगमा भगवान् रामले विचरण गरेको पवित्र भूमिका रूपमा मानिन्छ, यही आधारबाट रामपुरको नामकरण भएको पनि इतिहास छ।
नगर प्रमुख रमणबहादुर थापाले राम–सीतासँग सम्बन्धित ऐतिहासिक स्थलहरूको महत्व उजागर गर्दै पहिलोपटक सीताकुण्डमा औपचारिक रूपमा विवाह उत्सव मनाइएको बताए। धार्मिक पर्यटन विकास गर्ने उद्देश्यले उत्सवलाई भव्य रूपमा आयोजना गरिएको उनको भनाइ थियो।
कार्यक्रमलाई आकर्षक बनाउने क्रममा पञ्चेबाजा, भजन–कीर्तन, घिरिङ गाउँपालिकाको लाखे नाच, विभिन्न विद्यालय—रामतुलसी मावि, गंगा मावि, जनविकास मावि, रामपुर आवासीय मावि, भूपु सैनिक मावि—का स्काउट, विद्यार्थी, शिक्षक, कर्मचारी, आमा समूह तथा स्थानीय युवाहरूको विविध झाँकीले पनि वातावरण झनै उल्लासमय बनाएको थियो।
माइती पक्षतर्फबाट समाजसेवी युवा व्यक्तित्व सन्दीप रानाले जन्तीलाई गाउँमै उत्पादन भएका स्थानीय परिकारले स्वागत गरेका थिए।
समग्रमा, रामपुर नगर आज पौराणिक युगको भावनाले भरिपूर्ण बनेको छ। सांस्कृतिक झाँकी, धार्मिक आस्था र लोकपरम्पराको संगम बनेको यस वर्षको राम–सीता विवाह उत्सवले नगरकै धार्मिक पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण योगदान पुगेको छ।
फिचर पोस्ट

प्रकाशित : २०८२ मंसिर १० गते २२:१०
Facebook Comment