पाल्पा — तानसेन–बर्तुङ्ग सडक खण्डको साँघुरो र ‘U’ घुम्ती रहेको स्थानमा सडक भत्काएर लामो समयसम्म अलपत्र छोडिँदा स्थानीयवासी दैनिक जोखिममा परेका छन्। सडक खनिए पनि मर्मत कार्य समयमा नहुँदा यात्रु तथा चालकमाथि दुर्घटनाको खतरा बढेको स्थानीयको आरोप छ।
स्थानीय अनुसार, केही मिटरको मर्मतका लागि समेत हप्तौँसम्म धुलो, हिलो र खाल्डाखुल्डी सहेर यात्रा गर्नुपरेको छ। “भत्काउन हतार हुन्छ, तर काम सुरु र सक्ने बेला भने सम्बन्धित निकाय सुस्त देखिन्छ,” एक स्थानीयले बताए।
उक्त स्थानमा पछिल्लो दुई दिनमै दुईवटा दुर्घटना भएको दाबी गरिएको छ। यद्यपि, यी दुर्घटनाहरू सम्बन्धित कार्यालयको आधिकारिक तथ्यांकमा सूचीकृत छन् कि छैनन् भन्नेबारे यकिन जानकारी प्राप्त हुन सकेको छैन।
नागरिकहरूको भनाइमा उनीहरूको माग धेरै ठूलो छैन—सुरक्षित, चल्न सकिने न्यूनतम गुणस्तरको सडक मात्र हो। “काम सुरु गर्ने तयारी नै नभएको अवस्थामा सडक भत्काइँदा सर्वसाधारण अनावश्यक सास्तीमा परेका छन्,” स्थानीयवासीको गुनासो छ।
सडक भत्काउने जत्तिकै हतारमा मर्मत कार्य अघि नबढाइए यात्रु तथा स्थानीयलाई जोखिम झनै बढ्ने भएकाले तत्काल ध्यान दिन सबैले आग्रह गरेका छन्।
फोटो- भबिन्द्र गौतम फेसबुक
प्रकाशित : २०८२ मंसिर २१ गते १५:२१
Facebook Comment