मंसिर २७ | रमा भण्डारी | रामपुर, पाल्पा
लुम्बिनी वाङ्मय प्रतिष्ठान नेपाल, जिल्ला समिति पाल्पाको आयोजनामा लुम्बिनी प्रदेश स्तरीय साहित्यिक भेला पाल्पाको रामपुरमा सम्पन्न भएको छ। समिति अध्यक्ष कृष्णकला मण्डारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि वरिष्ठ साहित्यकार राजेन्द्रकुमार आचार्य रहनु भएको थियो।
लुम्बिनी वाङ्मय प्रतिष्ठानका संस्थापक महासचिवसमेत रहनु भएका आचार्यले पानसमा दीप प्रज्वलन गरी कार्यक्रमको उद्घाटन गर्नुभयो। जिल्ला समिति पाल्पाका उपाध्यक्ष गोविन्द नेपालको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा प्रमुख अतिथि आचार्यले **‘पाल्पा कुञ्ज’**को लोकार्पण तथा ‘रूपा’ उपन्यासको विमोचन गर्नुभयो।
कार्यक्रममा प्रमुख अतिथि आचार्यले समाज रूपान्तरणमा साहित्यको महत्वपूर्ण भूमिका रहने उल्लेख गर्दै पाल्पाका धार्मिक तथा पर्यटकीय स्थलहरूको चिनारीसँगै कुना–कन्धरामा लुकेका साहित्यिक प्रतिभालाई उजागर गर्ने उद्देश्यले यस्ता कार्यक्रम आवश्यक रहेको बताउनुभयो।
रामतुलसी माध्यमिक विद्यालयको सभाहलमा सम्पन्न कार्यक्रममा लुम्बिनी प्रदेशका साहित्यिक स्रष्टाहरूले पालैपालो आफ्ना रचना वाचन गरेका थिए। कार्यक्रममा ७ जना आजीवन सदस्यलाई प्रमाणपत्र प्रदान गरिएको थियो भने ७० भन्दा बढी साहित्यकार तथा स्रष्टाहरूले विविध विधाका रचना प्रस्तुत गरेका थिए।
अबेरसम्म सञ्चालन भएको कार्यक्रममा गोविन्दमोहन खड्काले ‘रूपा’ उपन्यासबारे समीक्षा प्रस्तुत गर्नुभयो। रामतुलसी माविका प्रधानाध्यापक बालकृष्ण लम्साललगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभयो। कार्यक्रममा सहभागिताका लागि धन्यवाद ज्ञापन वासुदेव ढकालले गर्नुभयो भने कार्यक्रम सञ्चालन सचिव तुलसीप्रसाद पोखरेलले गर्नुभएको थियो।
कार्यक्रममा सरोज काफ्ले (आमाविनाको घर), सबु आरोही (गजल), सिर्जना ज्ञवाली (कविता), तुलसीराम पोखरेल (गजल), सिर्जना खनाल (सुरमा), गोविन्द नेपाल (मुक्तक), दुर्गा थापा मगर (देशभक्ति कविता ‘म बाँचूँ नबाँचूँ सधैँ देश बाँचोस्’), सेन्टी सुन्दर, रूपक गैरे, नारायण समर्पण (गजल), मित्रलाल गौतम (लेखौँ सुनौलो कथा), वसन्त थापा (राष्ट्र), आयाम कार्की (लोरी), हरि भट्टराई (लोकतन्त्रमा), राजकुमारी कुवर गुल्मेली सानू (अक्षरको खेती), तिलक लामिछाने (छोरी बिदाइ गरी), सीताराम घिमिरे (मुक्तक) लगायतका स्रष्टाहरूले रचना वाचन गर्नुभयो।
यसैगरी आर.बी. निश्चल (गुण र बचेरा), चण्डीका प्रसाद भट्टराई (ऐठन), रमा भण्डारी (गजल), लक्ष्मी तिवारी (आमा विषयक गीत), केशवराज ज्ञवाली (रामपुरको महिमा), अमृत काफ्ले (अमृत बन्छु), कुन्तादेवी गैरे (नेपालमा शान्ति ल्याउने), माधवी पौडेल, फर्सुराम पाण्डे (गजल), पुरुषोत्तम अर्याल (सृष्टिकी पूर्ण हौ तिमी), गंगा पाठक, तारा सेढाई (मानव), नोलराज भण्डारी (म कवि होइन), हुमा देवकोटा (हाम्रो जीवन), लीलादेवी गौतम (जिन्दगीको परिभाषा) तथा रामप्रसाद अर्यालले हाइकु प्रस्तुत गर्नुभयो।
लुम्बिनी वाङ्मय प्रतिष्ठान नेपालका केन्द्रीय अध्यक्ष ऋषि आजादले शुभकामना मन्तव्य व्यक्त गर्दै संस्थाको स्थापना, उद्देश्य, हालसम्मका गतिविधि र भावी योजनाबारे जानकारी दिनुभयो। उहाँले नेपाली भाषा, साहित्य र साधकहरूप्रति समभावको आवश्यकता औंल्याउनुभयो।
‘रूपा’ उपन्यासका लेखक मोहनबाबु खड्काले लेखकीय मन्तव्य प्रस्तुत गर्नुभयो भने साहित्यकार श्यामप्रसाद न्यौपानेले पनि शुभकामना व्यक्त गर्नुभयो।
कार्यक्रममा वाचन गरिएका सिर्जनाहरूले समकालीन यथार्थ, राष्ट्रप्रेम, प्रकृति चेतना र मानवीय प्रवृत्तिमाथिको गहिरो विमर्श प्रस्तुत गरेका थिए। लोकतान्त्रिक व्यवस्थाभित्र देखिएका विकृतिमाथि प्रतीक, बिम्ब र अलंकारमार्फत सशक्त अभिव्यक्ति प्रस्तुत भएको सहभागीहरूको धारणा रहेको थियो।
प्रकाशित : २०८२ मंसिर २९ गते १०:५८
Facebook Comment