रामपुर, पाल्पा | रमा भण्डारी
गण्डकी बेँसी क्षेत्रको सबैभन्दा जेठो शैक्षिक संस्थाका रूपमा परिचित रामतुलसी माध्यमिक विद्यालय, रामपुर पाल्पाले स्थापनाको ५८औँ वर्ष प्रवेशको अवसरमा वार्षिक उत्सव तथा अभिभावक दिवस सम्पन्न गरेको छ।
विद्यालय व्यवस्थापन समिति अध्यक्ष विशाल श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा लुम्बिनी प्रदेश सभाका अर्थ, उद्योग तथा पर्यटन विकास समिति सभापति राजुप्रसाद श्रेष्ठ प्रमुख अतिथिका रूपमा उपस्थित रहनु भएको थियो।
कार्यक्रम उद्घाटन गर्दै प्रमुख अतिथि श्रेष्ठले प्रविधिको विकाससँगै समयसापेक्ष, व्यवहारिक तथा प्राविधिक शिक्षामा जोड दिनु अपरिहार्य रहेको बताउनुभयो। पाटी–चौतारीबाट सुरु भएको विद्यालय आज सुविधा सम्पन्न भवनबाट आधुनिक शिक्षा प्रदान गरिरहेको देख्दा खुसी लागेको उहाँको भनाइ थियो। साथै, प्रदेश सरकारबाट विद्यालयलाई निरन्तर सहयोग रहने प्रतिबद्धता जनाउनुभयो।
कार्यक्रममा रामपुर नगरपालिकाका नगर प्रमुख रमणबहादुर थापाले सैद्धान्तिक ज्ञानसँगै संस्कारयुक्त व्यवहारिक शिक्षा वर्तमान आवश्यकता भएको उल्लेख गर्नुभयो। सबैको सहकार्य र विद्यालय व्यवस्थापनको सक्रियताले विद्यालयले उल्लेखनीय प्रगति हासिल गरेको उहाँले बताउनुभयो।
विद्यालयका प्रधानाध्यापक बालकृष्ण लम्सालले विद्यालयको वर्तमान अवस्था र भावी योजनासहितको प्रतिवेदन प्रस्तुत गर्दै हाल विद्यालयमा मन्टेसरीदेखि कक्षा १२ सम्म २ हजार ७७२ जना विद्यार्थी अध्ययनरत रहेको जानकारी दिनुभयो।
विद्यालयको ११३ रोपनी १३ आना क्षेत्रफलमा फैलिएको जग्गामा १९ वटा ब्लकका ९० वटा कक्षाकोठा सञ्चालनमा रहेको उहाँले बताउनुभयो। साथै, विद्यालयले अभिभावक शिक्षा कार्यक्रम सञ्चालन गर्ने तयारी गरिरहेको जानकारी दिनुभयो।
कार्यक्रममा विद्यालयका लेखापाल हरिहर रेग्मीले गत आर्थिक वर्षको १२ करोड ७५ लाख ५७ हजार रुपैयाँ बराबरको आय–व्यय विवरणसहितको आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभयो।
सहायक प्रधानाध्यापक पूर्णचन्द्र घिमिरेको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन शिक्षक लेखनाथ शर्मा मरासिनीले गर्नुभएको थियो।
वार्षिक उत्सवका अवसरमा विद्यार्थीहरूले विविध सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए। साथै, शैक्षिक तथा चित्रकला प्रदर्शनी आयोजना गरिएको थियो भने विद्यार्थीहरूद्वारा सञ्चालित २७ वटा स्टलमार्फत खाना महोत्सव आयोजना गरी विभिन्न परिकारबाट पाहुना तथा अभिभावकलाई आतिथ्य प्रदान गरिएको थियो।
फिचर पोस्ट


प्रकाशित : २०८२ पुष २ गते १२:१३
Facebook Comment