पौष ७ — रमा भण्डारी, रामपुर (पाल्पा)
नेपाल पत्रकार महासंघका निवर्तमान अध्यक्ष तथा सल्लाहकार विपुल पोख्रेलले नागरिकलाई गलत सूचनाबाट जोगाउन पत्रकारहरू अझ जिम्मेवार हुनुपर्ने आवश्यकता औँल्याएका छन्।
आज पाल्पाको रामपुरस्थित होटल नमस्तेमा आयोजित पत्रकारहरूसँगको भेटघाट कार्यक्रममा बोल्दै पोख्रेलले इन्टरनेटको तीव्र विकाससँगै सञ्चार माध्यमहरूको संख्या बढे पनि ती माध्यमबाट वास्तविक पत्रकारिता भइरहेको छ कि छैन भन्ने विषयमा गम्भीर प्रश्न उठिरहेको बताए।
उनले भने, “विभिन्न सञ्चार माध्यमहरूको उपलब्धता स्वागतयोग्य कुरा हो, तर ती माध्यमबाट पत्रकारिताका आधारभूत मान्यतामा आधारित सामग्री प्रवाह भइरहेको छ कि छैन भन्ने कुरा अझ महत्वपूर्ण हुन्छ।”
यस्तो अवस्थामा पत्रकारहरूले सही, तथ्यमा आधारित सूचना प्रवाह गरी नागरिकलाई गलत सूचनाबाट जोगाउनु पर्ने उनको भनाइ थियो। साथै, उनले मिडिया साक्षरता अभियानको आवश्यकतासमेत औँल्याए।
“समाचार के हो ? पत्रकारिता कसरी गरिन्छ ? भन्ने विषयमा सञ्चारका उपभोक्ताहरू पनि जानकार हुनुपर्छ,” उनले भने, “यसका लागि पत्रकारहरूको संस्थाले मिडिया साक्षरताको अभियान सञ्चालन गर्न आवश्यक छ।”
पोख्रेलले सीमित स्रोत–साधनका बाबजुद पनि नेपालका दुर्गम क्षेत्रका पत्रकारहरूले नेपाली पत्रकारिता क्षेत्रमा पुर्याएको योगदानको प्रशंसा गर्दै भने, “पत्रकारिता कर्म जति व्यवस्थित हुन्छ, समाजमा त्यति नै अन्तरक्रिया बढ्छ।”
उनका अनुसार समाजलाई अन्तरक्रियात्मक बनाउँदै लोकतन्त्रलाई मजबुत बनाउन दुर्गम भेगका पत्रकारहरूले समेत महत्वपूर्ण भूमिका खेलेका छन्।
प्रकाशित : २०८२ पुष ७ गते १९:५९
Facebook Comment