रामपुर रेडक्रसको ९औँ वार्षिक साधारण सभा तथा पाँचौँ अधिवेशन सम्पन्न

रमा भण्डारी रामपुर, पाल्पा
प्रकाशित : २०८२ पुष ११ गते १७:१९

रामपुर, पाल्पा | पौष १०
नेपाल रेडक्रस सोसाइटी उपशाखा रामपुरको ९औँ वार्षिक साधारण सभा तथा पाँचौँ अधिवेशन सम्पन्न भएको छ। सेवा नै धर्म हो भन्ने नाराका साथ निःस्वार्थ सेवामा सक्रिय संस्थाले विपद् तथा आपतकालीन अवस्थामा प्रभावकारी भूमिका निर्वाह गर्दै आएको बताइएको छ।
साधारण सभामा कोषाध्यक्ष दुर्गा प्रसाद भट्टराईले आर्थिक वर्ष २०८१/०८२ को प्रतिवेदन प्रस्तुत गर्दै २ लाख १८ हजार ५ सय १६ रुपैयाँ आम्दानी, १ लाख २५ हजार ८ सय ३६ रुपैयाँ खर्च र ९२ हजार ६ सय ८० रुपैयाँ बचत रहेको जानकारी दिनुभयो।
संस्थाका अध्यक्ष मनोरथ भट्टराईले रामपुर–४ रेवतीपोखरा आगलागीबाट प्रभावित ९ परिवारलाई सामग्री तथा नगद सहयोग गरिएको जानकारी दिनुभयो। साथै रक्त अभावका बेला सामाजिक सञ्जालमार्फत तत्काल रक्तदाता व्यवस्थापन गर्दै जीवन रक्षा गरिएको उहाँले बताउनुभयो।
अध्यक्ष मनोरथ भट्टराईको अध्यक्षतामा भएको कार्यक्रमको उद्घाटन लुम्बिनी प्रदेश अर्थ, उद्योग तथा पर्यटन समितिका सभापति राजु प्रसाद श्रेष्ठले गर्नुभयो। उहाँले रेडक्रस मानव सेवामा निःस्वार्थ रूपमा कार्यरत संस्था भएको उल्लेख गर्दै प्रविधिको प्रयोगमार्फत सेवा प्रवाह प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभयो। प्रदेश सरकारले भवन निर्माणका लागि १० लाख रुपैयाँ बजेट विनियोजन गरेको जानकारी पनि उहाँले दिनुभयो।
कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी पाल्पाका सभापति बाबुराम कार्कीले विपद् व्यवस्थापनमा रेडक्रसको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो। रामपुर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट शान्त बहादुर रोक्का मगरले छिट्टै रामपुर अस्पतालमा ब्लड बैंक सञ्चालन गर्ने तयारी भइरहेको जानकारी दिनुभयो।
साधारण सभाले ११ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको छ।
सभापतिमा मनोरथ भट्टराई, उपसभापतिमा रमा भण्डारी, सचिवमा तिल बहादुर श्रेष्ठ, सह–सचिवमा मञ्जु पोखरेल, कोषाध्यक्षमा केशव पोखरेल र सह–कोषाध्यक्षमा हिरा पोखरेल चयन हुनुभएको छ। सदस्यहरूमा बन्दना पोखरेल, सीता डोटेल, भेषराज अर्याल लगायत रहनुभएको छ।


प्रकाशित : २०८२ पुष ११ गते १७:१९


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology