पत्रकार महासंघ पाल्पाको ३४औँ स्थापना दिवस भव्यताका साथ सम्पन्न

रमा भण्डारी रामपुर, पाल्पा
प्रकाशित : २०८२ पुष २० गते १३:४६

१९ पौष, रमा भण्डारी — रामपुर, पाल्पा
नेपाल पत्रकार महासंघ पाल्पा शाखाले शनिबार तानसेनमा आयोजना गरेको ३४औँ स्थापना दिवस तथा अन्तरक्रिया कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ।
कार्यक्रममा वक्ताहरूले पत्रकारहरूले निश्चित विचार, आस्था वा दलभन्दा माथि उठेर स्वतन्त्र, निष्पक्ष र मर्यादित पत्रकारिता गर्न सक्ने आँट गर्नुपर्नेमा जोड दिएका थिए। पत्रकारलाई स्वतन्त्र रूपमा कलम चलाउन राजनीतिक दल वा शक्तिले अंकुश लगाउन नहुने उनीहरूको धारणा थियो।
कार्यक्रमका प्रमुख अतिथि तथा महासंघ पाल्पा शाखाका संस्थापक अध्यक्ष मेघराज शर्माले पाल्पाको पत्रकारिता इतिहास गौरवपूर्ण रहेको स्मरण गर्दै जवाफदेहिता, अनुशासन र व्यावसायिक मर्यादा कायम राख्दै विगतको गरिमा जोगाउन पत्रकारहरूलाई आग्रह गर्नुभयो। उहाँले समानुपातिक विज्ञापन नीति व्यवहारमा लागू गराउन महासंघले प्रभावकारी पहल गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो।
लुम्बिनी प्रदेश सभा सदस्य वीरबहादुर रानाले पत्रकारलाई दलले नियन्त्रण गर्न नहुनेमा जोड दिँदै गलत कामको खुला रूपमा भण्डाफोर गर्न पत्रकारले आँट गर्नुपर्ने बताउनुभयो।
कार्यक्रममा नेपाली कांग्रेस पाल्पाका सभापति हिमालदत्त श्रेष्ठले महासंघलाई जीवन्त र प्रभावकारी बनाउन संस्थागत रूपमा मजबुत बनाइनुपर्ने धारणा राख्नुभयो।
राष्ट्रिय स्वतन्त्र पार्टीका जिल्ला उपाध्यक्ष सुमन गैरेले राजनीतिक कारणले केही पत्रकारहरू दबाबमा पर्ने अवस्था रहेको उल्लेख गर्नुभयो।
त्यसैगरी नेकपा तर्फबाट यादवबहादुर रायमाझी र राप्रपाका प्रतिनिधि रमेश विरजंग राणाले स्थापना दिवसको अवसरमा शुभकामना व्यक्त गर्नुभयो।
स्थापना दिवसको अवसरमा तानसेन नगरपालिकाका प्रमुख सन्तोषलाल श्रेष्ठ, बगनासकाली गाउँपालिकाका अध्यक्ष सस्वती दर्लामी चिदी र माथागढी गाउँपालिकाका अध्यक्ष यमबहादुर चिदीले स्थानीय तहले स्थानीय मिडियाको संरक्षण र प्रवर्द्धनमा सहयोग गर्दै आएको बताउँदै सूचना सत्य, तथ्य र समयमै सम्प्रेषण भए पत्रकारिताको विश्वसनीयता बढ्ने धारणा व्यक्त गर्नुभयो।
कार्यक्रममा निमित्त प्रमुख जिल्ला अधिकारी ऋषिराम सुवेदी, पाल्पा उद्योग वाणिज्य संघका अध्यक्ष शैलेन्द्र भट्टराई, पाल्पा व्यापार संघका अध्यक्ष विष्णुबहादुर कार्की र महासंघका संस्थापक सचिव भरत शर्माले शुभकामना मन्तव्य राख्नुभयो।
नेपाल पत्रकार महासंघका पूर्व अध्यक्षहरू गोविन्द भट्टराई र झपेन्द्र गहिरेले पाल्पाली पत्रकारिताको इतिहास र योगदानबारे चर्चा गर्नुभएको थियो।
पूर्व अध्यक्ष भगवान भण्डारीले पत्रकारिता बिना विकास र सुशासनको परिकल्पना गर्न नसकिने बताउनुभयो भने राजेश कुमार अर्यालले पत्रकारिताको विगत र वर्तमान अवस्थाको चित्रण गर्नुभयो।
नेपाल पत्रकार महासंघका वर्तमान अध्यक्ष कमलराज तिमिल्सिनाले सहभागीहरूको सुझावलाई आत्मसाथ गर्दै महासंघको गरिमा उच्च राखेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
कार्यक्रममा उपाध्यक्ष मुक्ति न्यौपानेले स्वागत मन्तव्य, बन्दना पोखरेलले धन्यवाद ज्ञापन तथा सचिव रामचन्द्र रायमाझीले कार्यक्रम सञ्चालन गर्नुभएको थियो।


प्रकाशित : २०८२ पुष २० गते १३:४६


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology