कालिगण्डकी करिडोरमा मोटरसाइकल ठक्कर : एकको मृत्यु, दुई घाइते

रमा भण्डारी रामपुर, पाल्पा
प्रकाशित : २०८२ पुष २६ गते २१:०१

पाैष २६ | रमा भण्डारी | रामपुर, पाल्पा
कालिगण्डकी करिडोरअन्तर्गत पाल्पाको रामपुर नगरपालिका–८, कुमराङ्गमा शनिबार साँझ दुई मोटरसाइकल आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।
दुर्घटनामा रामपुर नगरपालिका–८ पिल्टार निवासी ५० वर्षीय डोल बहादुर कुमालको ज्यान गएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ। रामपुरबाट भुजातर्फ जाँदै गरेको लु २० प ५८९७ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको लु ६८ प ८८०० नम्बरको मोटरसाइकल साँझ करिब ६ बजे आपसमा ठोक्किएका थिए।
दुर्घटनामा लु ६८ प ८८०० नम्बरको मोटरसाइकल चालक डोल बहादुर कुमाल, लु २० प ५८९७ नम्बरको चालक रामपुर नगरपालिका–८ धारापनी निवासी २१ वर्षीय करण श्रेष्ठ र सोही मोटरसाइकलको पछाडि सवार २३ वर्षीय गिरमान श्रेष्ठ घाइते भएका थिए।
घाइतेहरूलाई उपचारका लागि रामपुर अस्पताल लगिएकोमा गम्भीर घाइते डोल बहादुर कुमालको उपचारकै क्रममा निधन भएको इलाका प्रहरी कार्यालय रामपुरका प्रमुख प्रहरी निरीक्षक लालबहादुर सुनारले जानकारी दिनुभयो।
प्रहरीका अनुसार घाइतेमध्ये करण श्रेष्ठको अवस्था गम्भीर र गिरमान श्रेष्ठको अवस्था मध्यम रहेको छ। दुवै जनालाई थप उपचारका लागि लुम्बिनी मेडिकल कलेज, प्रभासमा रेफर गरिएको छ।
प्रारम्भिक अनुसन्धानअनुसार लु ६८ प ८८०० नम्बरको मोटरसाइकलले अगाडि रहेको नम्बर नखुलेको कारलाई ओभरटेक गर्ने क्रममा दुर्घटना भएको जनाइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


प्रकाशित : २०८२ पुष २६ गते २१:०१


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology