रामतुलसी नमुना माध्यमिक विद्यालयले अन्तर्राष्ट्रिय गुणस्तर चिन्ह (ISO) लोगो प्राप्त

रमा भण्डारी रामपुर, पाल्पा
प्रकाशित : २०८२ पुष २९ गते १०:४५

पौष २८ | रमा भण्डारी
रामपुर, पाल्पा
पूर्वी पाल्पाको जेठो शैक्षिक संस्था रामतुलसी नमुना माध्यमिक विद्यालयले अन्तर्राष्ट्रिय गुणस्तर चिन्ह आईएसओ (ISO) लोगो प्राप्त गरेको छ। विद्यालयले शैक्षिक तथा भौतिक विकाससम्बन्धी विभिन्न मापदण्डमध्ये २५ प्रतिशत मापदण्ड पूरा गरेपछि उक्त लोगो प्राप्त गर्न सफल भएको हो।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विशाल श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि लुम्बिनी प्रदेशसभा सदस्य तथा अर्थ, उद्योग तथा पर्यटन विकास समितिका सभापति राजुप्रसाद श्रेष्ठले पानसमा दीप प्रज्वलन गरी कार्यक्रमको उद्घाटन गर्नुभयो। उहाँले ढुंगे चौतारीबाट सुरु भएको विद्यालय यात्रा—खरको छाना, जस्ताको छाना हुँदै पक्की भवन र आज अन्तर्राष्ट्रिय गुणस्तर चिन्हसम्म आइपुग्नु गौरवको विषय भएको बताउनुभयो।
प्रमुख अतिथि श्रेष्ठले अबको शिक्षा पढ्दै–कमाउँदै, व्यवहारिक, संस्कारयुक्त र विद्यार्थीको चाहनाअनुसारको हुनुपर्नेमा जोड दिनुभयो। उहाँले प्रविधिमैत्री र आधुनिक शिक्षा आवश्यक रहेको उल्लेख गर्दै ढिलासुस्तीले नहुने धारणा राख्नुभयो। शिक्षक, अभिभावक र विद्यार्थीबीचको सहकार्यलाई नङ र मासुको सम्बन्ध जस्तै हुनुपर्ने बताउँदै त्यसैको परिणामस्वरूप विद्यालयले आजको उपलब्धि हासिल गरेको बताउनुभयो। साथै प्रदेश सरकारबाट विद्यालयलाई सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

विद्यालयका प्रधानाध्यापक बालकृष्ण लम्सालले विद्यालयले गरिरहेका कामलाई अझ व्यवस्थित बनाउँदै बाँकी मापदण्ड पूरा गर्ने दिशामा अघि बढिरहेको जानकारी दिनुभयो। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विशाल श्रेष्ठले एक वर्षभित्र सबै तोकिएका मापदण्ड पूरा गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
कार्यक्रममा लुम्बिनी प्रदेशसभा पूर्व सदस्य तथा विद्यालयका पूर्व विद्यार्थी युवराज खनाल, रामपुर नगरपालिका–५ का वडाध्यक्ष दुर्गाप्रसाद पोख्रेल, आधारभूत माध्यमिक विद्यालय व्यवस्थापन समिति अध्यक्ष कमलराज भट्टराई, दरैठाटी माध्यमिक विद्यालयका प्रधानाध्यापक सुन्दरप्रसाद देवकोटा, अभिभावक चिरञ्जीवी सिग्देल, नेपाल पत्रकार महासंघ पाल्पाका उपाध्यक्ष बन्दना पोख्रेल तथा विद्यार्थी करिना कार्की लगायतले विद्यालयको प्रशंसा गर्दै शुभकामना व्यक्त गर्नुभएको थियो।
कार्यक्रममा ग्लोबल क्वालिटी काउन्सिल नेपालका फोकल पर्सन सुदिप शर्माले विद्यालय परिवारलाई औपचारिक रूपमा आईएसओ लोगो हस्तान्तरण गर्नुभयो। शिक्षक लेखनाथ शर्मा मरासिनीले सञ्चालन गर्नुभएको कार्यक्रममा विद्यार्थीहरूले आकर्षक नृत्य प्रस्तुत गरेका थिए।

फिचर पोस्ट 


प्रकाशित : २०८२ पुष २९ गते १०:४५


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology