रामपुर आयुर्वेदिक अस्पतालमा ११औँ अन्तर्राष्ट्रिय योग दिवस भव्य रूपमा सम्पन्न

रमा भण्डारी रामपुर, पाल्पा
प्रकाशित : २०८२ माघ २ गते १८:०३

माघ १ — रमा भण्डारी
रामपुर, पाल्पा
रामपुर आयुर्वेदिक अस्पतालको आयोजनामा ११औँ अन्तर्राष्ट्रिय योग दिवस बिहीबार विविध कार्यक्रमसहित भव्य रूपमा सम्पन्न भएको छ। “योग गरौँ, स्वस्थ बनौँ; स्वस्थ समाज, समृद्ध नेपाल र विश्व शान्तिका लागि योग” भन्ने मूल नाराका साथ आयोजित कार्यक्रममा योग, ध्यान, निन्द्रा व्यवस्थापन तथा स्वस्थ खानपिनसम्बन्धी व्यावहारिक अभ्यास र सचेतनामूलक सन्देश प्रदान गरिएको थियो।
रामपुर नगरपालिका वडा नं. ७ का वडा अध्यक्ष दोवराज तिवारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सहभागी योग साधकहरूलाई शारीरिक अभ्याससँगै मानसिक शुद्धता, मनको सफाइ, तनाव व्यवस्थापन तथा आत्मअनुशासनको महत्वबारे जानकारी गराइएको थियो। वक्ताहरूले आजको व्यस्त र प्रतिस्पर्धात्मक जीवनशैलीका कारण मानिसहरू मानसिक रूपमा थकित बन्दै गइरहेको अवस्थामा योग र ध्यानलाई जीवनको अभिन्न अंग बनाउनुपर्नेमा जोड दिएका थिए।
कार्यक्रमका प्रमुख अतिथि लुम्बिनी प्रदेशसभा सदस्य तथा लुम्बिनी प्रदेश अर्थ, उद्योग तथा पर्यटन विकास समितिका सदस्य राजु प्रसाद श्रेष्ठले योग केवल शारीरिक व्यायाम मात्र नभई सम्पूर्ण जीवन पद्धति भएको बताउनुभयो। उहाँले भन्नुभयो, “योगले शरीरलाई स्वस्थ बनाउनुका साथै मनका विकार, नकारात्मक सोच र तनाव हटाई व्यक्तिलाई शान्त, अनुशासित र सकारात्मक बनाउँछ।”
कार्यक्रमका अध्यक्ष तथा रामपुर योग समितिका अध्यक्ष सुदिप गैरेले योगले मन, वचन र कर्मलाई शुद्ध बनाउने उल्लेख गर्नुभयो। उहाँले नियमित योग अभ्यासले मनको सफाइ, आत्मचिन्तन र नैतिक मूल्यको विकास हुने बताउँदै योगलाई बिहानको दैनिक दिनचर्यामा समावेश गर्न आग्रह गर्नुभयो।
रामपुर महिला पतञ्जली योग समिति अध्यक्ष भगवती गौतमले महिलाको स्वास्थ्य र मानसिक सशक्तीकरणमा योगको भूमिका अत्यन्त महत्वपूर्ण रहेको बताउनुभयो। त्यसैगरी वडा नं. ६ का वडा अध्यक्ष दिवाकर देवकोटाले योग, ध्यान तथा उचित खानपिनले मनको शुद्धता कायम गर्दै तनावमुक्त जीवनयापनमा सहयोग पुग्ने धारणा राख्नुभयो।
रामपुर आयुर्वेदिक अस्पतालका प्रमुख चेवन प्रकाश पोखरेलले आयुर्वेद र योग एक–अर्काका पूरक रहेको बताउँदै नियमित योग अभ्यासले रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्ने, जीवनशैलीजन्य रोगबाट जोगाउने तथा मानसिक सन्तुलन कायम राख्ने जानकारी दिनुभयो। उहाँले मन शान्त भए मात्र शरीर पूर्ण रूपमा स्वस्थ रहने उल्लेख गर्नुभयो।
कार्यक्रममा योग, ध्यान र निन्द्रा व्यवस्थापनसम्बन्धी अभ्यास गराइएको थियो भने स्वस्थ खानपिन र जीवनशैली सुधारका उपायबारे समेत जानकारी दिइएको थियो। कार्यक्रममा करिब ४५ जना योग साधकहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
कार्यक्रमको सञ्चालन सूर्यप्रसाद श्रेष्ठले गर्नुभएको थियो। सहभागीहरूले यस्ता कार्यक्रमले मनको सफाइ, आत्मविश्वास वृद्धि र स्वस्थ जीवनशैली अपनाउन थप प्रेरणा मिलेको प्रतिक्रिया दिएका छन्।


प्रकाशित : २०८२ माघ २ गते १८:०३


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology