दोहा । कतार- प्रविण तिमल्सिना
प्रवासी भूमिमा रहेर पनि मातृभूमिप्रतिको जिम्मेवारी र मानवताप्रतिको संवेदनालाई जीवन्त बनाउँदै पर्वत जलजला समाज कतार र आर्थर डाँडाखर्क समाज कतारले नेपाली रक्तदाता सङ्घ कतारको समन्वयमा संयुक्त रूपमा आयोजना गरेको “बृहत् रक्तदान कार्यक्रम” भव्य तथा प्रेरणादायी रूपमा सम्पन्न भएको छ।
शुक्रबार २३ जनवरी २०२६ का दिन बिहान ठीक बिहान ८ बजेदेखि सुरु भई दिउँसो १ बजेसम्म सञ्चालन भएको उक्त कार्यक्रमले रक्तदानमार्फत जीवन बचाउने महान् कार्यमा प्रवासी नेपालीहरूको उल्लेखनीय सहभागिता, एकता र प्रतिबद्धता स्पष्ट रूपमा देखाएको छ।
कार्यक्रमको औपचारिक शुभारम्भ पर्वत जलजला समाज कतारका संरक्षक भरत मल्ल र आर्थर डाँडाखर्क समाज कतारका संरक्षक रघु शर्माले संयुक्त रूपमा रक्तदान गर्दै गर्नुभएको थियो। समाजका संरक्षकहरूले आफैं रक्तदान गरेर कार्यक्रम सुरु गर्नुले उपस्थित रक्तदाताहरूमा थप उत्साह, प्रेरणा र आत्मविश्वास जगाएको सहभागीहरूको भनाइ थियो।
त्यसैगरी, कार्यक्रमको अन्तिम चरणमा पर्वत जलजला समाज कतारका अध्यक्ष देवराज कार्की र आर्थर डाँडाखर्क समाज कतारका अध्यक्ष राजु जिसीले रक्तदान गर्दै कार्यक्रमको समापन गर्नुभएको थियो। नेतृत्व तहबाटै गरिएको यो उदाहरणीय कार्यले ‘पहिले आफू, अनि अरू’ भन्ने मानवीय सन्देशलाई व्यवहारमै उतारेको देखिन्थ्यो।
रक्तदानलाई प्रत्यक्ष पुण्य कार्यका रूपमा लिँदै, दुर्घटना, गम्भीर रोग, आकस्मिक शल्यक्रिया तथा विभिन्न आपतकालीन अवस्थाहरूमा जीवन जोखिममा परेका व्यक्तिहरूको जीवन रक्षा गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको आयोजक संस्थाहरूले बताएका छन्।
“रक्तदानभन्दा ठूलो मानव सेवा अर्को हुन सक्दैन। आफ्नो केही मिनेटको समय र थोपा–थोपा रगतले कसैको जीवन बचाउन सकिन्छ भने त्योभन्दा ठूलो गर्वको विषय केही हुँदैन,” आयोजकहरूको धारणा थियो।
कार्यक्रममा २५० भन्दा धेरै को उपस्थिति भयता पनि रक्तदानका लागि १३३ जनाले नाम दर्ता गराएका थिए। तीमध्ये २३ जना सिस्टम ब्लक तथा स्वास्थ्यसम्बन्धी अन्य कारणले रक्तदान गर्न असमर्थ रहे भने ११० जना रक्तदाताले सफलतापूर्वक रक्तदान गरी मानवताको उच्च उदाहरण प्रस्तुत गरेका थिए। कार्यक्रममा पहिलोपटक रक्तदान गर्ने रक्तदातादेखि नियमित रक्तदातासम्मको उल्लेखनीय सहभागिता देखिएको थियो।
कार्यक्रमलाई सफल बनाउन बाग्लुङ सेवा समाज कतार, ठकुरी सहयोग सञ्जाल, रोयल ठकुरी ग्रुप लगायत दोहामा क्रियाशील विभिन्न नेपाली संघ–संस्थाहरूले विशेष सहयोग पुर्याएका थिए। साथै, स्वयंसेवकका रूपमा खटिएका युवाहरूको सक्रियता, अनुशासन र समर्पणले कार्यक्रमलाई थप व्यवस्थित र प्रभावकारी बनाएको थियो।
कार्यक्रममा सहभागी भई आफ्नो अमूल्य समय दिई सहयोग गर्नुहुने सम्पूर्ण रक्तदाताहरू, स्वयंसेवकहरू, सहयोगी संघ–संस्थाहरू तथा प्रत्यक्ष–अप्रत्यक्ष रूपमा सहयोग पुर्याउने सबैप्रति पर्वत जलजला समाज कतार र आर्थर डाँडाखर्क समाज कतारका तर्फबाट अध्यक्षद्वय देवराज कार्की र राजु जिसीले हार्दिक धन्यवाद तथा गहिरो कृतज्ञता व्यक्त गर्नुभएको छ।
प्रवासी जीवनको व्यस्तता र चुनौतीका बीच पनि मानवता, सहकार्य र सामाजिक उत्तरदायित्वको भावनालाई केन्द्रमा राख्दै आयोजना गरिएको यो बृहत् रक्तदान कार्यक्रम कतारमा रहेका सम्पूर्ण नेपाली समुदायका लागि प्रेरणादायी उदाहरण बनेको सहभागीहरूको प्रतिक्रिया रहेको छ।
फिचर पोस्ट


प्रकाशित : २०८२ माघ ११ गते १२:५९
Facebook Comment