पाल्पा ।
पाल्पा जिल्लाको रामपुर–१, खटाङ्गस्थित श्री शिवशक्ति आधारभूत विद्यालयको शैक्षिक उन्नयनका लागि पाल्पाली सेवा समाज दोहा–कतारले उल्लेखनीय सहयोग गरेको छ।
वैदेशिक रोजगारीका सिलसिलामा विदेशमा रहेर पनि स्वदेशमा शिक्षा तथा विकासका क्षेत्रमा निरन्तर योगदान पुर्याउँदै आएको पाल्पाली सेवा समाज दोहा–कतारले विद्यालयको शैक्षिक गुणस्तर सुधारलाई लक्षित गर्दै रु. ५१ हजार रुपैयाँ को अक्षयकोष स्थापना गरेको हो।
उक्त सहयोग रकम समाजसेवी तथा पाल्पाली सेवा समाज कतारका पूर्व अध्यक्ष इश्वर काफ्लेको हातबाट हस्तान्तरण गरिएको हो। काफ्ले सन् २०१७ देखि २०१९ सम्म कतारस्थित पाल्पाली समाजको अध्यक्षको जिम्मेवारीमा रहनुभएको थियो।
कार्यक्रमका क्रममा उहाँले पाल्पाली सेवा समाज दोहा–कतारलाई नजिकबाट चिनाउँदै, समाजका योजना, उद्देश्य तथा हालसम्म सम्पन्न गरिएका सामाजिक तथा शैक्षिक कार्यहरूको विवरण प्रस्तुत गर्नुभएको थियो। व्यस्त समयका बाबजुद पनि कार्यक्रममा उपस्थित भई अमूल्य समय प्रदान गर्दै सक्रिय भूमिका निर्वाह गर्नुभएकोमा विद्यालय परिवार तथा स्थानीयवासीले धन्यवाद तथा सम्मान व्यक्त गरेका छन्।
उक्त सहयोगको कदरस्वरूप विद्यालयले पाल्पाली सेवा समाज दोहा–कतारलाई सम्मान–पत्र प्रदान गरेको छ।
सम्मान–पत्रमा मिति २०८२ माघ १९ गतेका दिन उल्लेख छ भने हस्ताक्षर विद्यालयका प्रधानाध्यापक शिवराज पोखरेल र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विष्णु थापाको रहेको छ ।
पाल्पाली सेवा समाज दोहा–कतारका हालका अध्यक्ष विश्व नाथ भट्टराईले कन्दरा न्युजलाई जानकारी दिँदै आगामी दिनमा पनि अन्य विद्यालयहरूलाई समेत शैक्षिक तथा भौतिक सहयोग निरन्तर प्रदान गरिने बताउनुभयो।

विदेशमा रहेर पनि मातृभूमिको शिक्षा क्षेत्रमा निरन्तर योगदान पुर्याउँदै आएको पाल्पाली सेवा समाज दोहा–कतारको यो पहल स्थानीयस्तरमा सराहनीय रहेको जनाइएको छ।

प्रकाशित : २०८२ माघ २१ गते ०:१४
Facebook Comment