पाल्पा, रामपुर
वैदेशिक रोजगारीमा दोहा, कतारमा कार्यरत कृषक ऋषिराम श्रेष्ठको मन भने सधैं आफ्नै गाउँको माटोमै अडिएको छ। विदेशको कमाइलाई केवल आम्दानीको स्रोतका रूपमा प्रयोग गर्दै उहाँले स्वदेश फर्केर दीगो कृषि अभियानमा समर्पित हुने स्पष्ट योजना अघि बढाउनुभएको छ।
भारतको सेनामा लामो समय सेवा गरी अवकाश लिनुभएका श्रेष्ठ केही वर्षयता कतारमा कार्यरत रहँदै आउनुभएको छ। वैदेशिक रोजगारीबाट आर्जित सीप, अनुभव र पूँजीलाई उत्पादनमूलक क्षेत्रमा लगानी गर्ने उद्देश्यले उहाँले आफ्नै पुख्र्यौली जमिनमा ‘श्रेष्ठ कृषि तथा पशु पन्छी फर्म’ स्थापना गर्नुभएको हो।
३० रोपनी पुख्र्यौली जमिनदेखि ५५ रोपनीसम्म विस्तार
सुरुवातमा झाडी र घाँसले ढाकिएको करिब ३० रोपनी पुख्र्यौली जमिन सरसफाइ गरी उत्पादनमा ल्याइएको थियो। त्यसपछि गाउँ छाडेर बसाइँ सरेका छिमेकीहरूसँग थप २५ रोपनी जग्गा खरिद गरी हाल कुल ५५ रोपनी क्षेत्रफलमा व्यावसायिक फलफूल तथा पशुपालन व्यवसाय सञ्चालन भइरहेको छ।
सुन्तला, कागती, आँप, लिचीलगायतका विभिन्न फलफूलका बिरुवा रोपेर बाँझो जमिनलाई हरियाली बगैँचामा रूपान्तरण गरिएको छ। हालसम्म फर्ममा ४५ लाख रुपैयाँभन्दा बढी लगानी भइसकेको सञ्चालक श्रेष्ठ बताउनुहुन्छ।
श्रेष्ठले भन्नुभयो,
“त्यति राम्रो खेती हुने वारी जंगलमा परिणत भएको देख्दा मन खिन्न हुन्थ्यो। छिमेकीलाई पनि फलफूलका बिरुवा लगाएर सदुपयोग गर्न आग्रह गरेको थिएँ, तर बेवास्ता भएपछि आफैंले खरिद गरेर खेती सुरु गरेको हुँ। विदेश बसेर मात्रै हुँदैन, नेपाल फर्केर पनि केही गर्नुपर्छ भन्ने सोचले नै यो अभियान सुरु गरेको हुँ। अब एक–दुई वर्षभित्र पूर्ण रूपमा स्वदेश फर्केर कृषि र पशुपालनमै समर्पित हुन्छु।”
आधुनिक प्रविधिसहित अर्गानिक खेती
कृषिलाई दीगो र आम्दानीमुखी बनाउन आधुनिक प्रविधि अपनाइएको छ। बिरुवाको सिँचाइका लागि लिफ्टिङ प्रणालीमार्फत प्रत्येक बिरुवासम्म एकै पटक पानी पुग्ने गरी इजरायली ड्रिप सिँचाइ प्रविधि जडान गरिएको छ।
मल व्यवस्थापनका लागि भैंसी पालन गरिएको छ भने उन्नत जातको भैंसीमार्फत दूध उत्पादन बढाउने लक्ष्यसहित यस वर्ष नयाँ संरचना निर्माणसमेत गरिएको छ। फलफूल र पशुपालनलाई एकआपसमा जोडेर अर्गानिक उत्पादनमा विशेष जोड दिइएको छ।
विदेशमै रहँदा पनि श्रेष्ठले भिडियो कलमार्फत बगैँचाको नियमित अनुगमन गर्ने गर्नुहुन्छ। बिरुवामा समस्या देखिएमा प्राविधिकसँग परामर्श लिएर तत्काल समाधानको व्यवस्था गरिँदै आएको छ। फर्ममा एक जना कर्मचारी स्थायी रूपमा खटाइएको छ भने स्थानीय युवाले समेत रोजगारीको अवसर पाएका छन्।
एग्रो–टुरिजम र ब्रान्डिङको योजना
दीर्घकालीन रूपमा ‘श्रेष्ठ कृषि तथा पशु पन्छी फर्म’ लाई नमूना अर्गानिक कृषि केन्द्रका रूपमा विकास गर्ने उहाँको लक्ष्य छ। कृषिसँगै एग्रो–टुरिजम अवधारणा अघि बढाउने, उत्पादनको ब्रान्डिङ गर्ने तथा विदेशमा रहेका युवालाई स्वदेशमै सम्भावना खोज्न प्रेरित गर्ने योजना रहेको उहाँ बताउनुहुन्छ।
स्थानीयवासीका अनुसार श्रेष्ठको पहलले गाउँमा सकारात्मक सन्देश प्रवाह गरेको छ। वैदेशिक रोजगारीलाई अन्तिम गन्तव्य नठानी स्वदेश फर्केर उत्पादनमूलक क्षेत्रमा लगानी गर्ने सोचले अन्य युवामा समेत उत्साह थपिएको छ।
विदेशी भूमिमा पसिना बगाइरहेका ऋषिराम श्रेष्ठ अब केही वर्षमै आफ्नै गाउँ फर्केर कृषि क्षेत्रमै नयाँ सम्भावनाको ढोका खोल्ने तयारीमा हुनुहुन्छ। उहाँको अभियानले स्पष्ट सन्देश दिएको छ—
“स्वदेशमै सम्भावना छ, केवल आँट, मेहनत र दीर्घकालीन योजना चाहिन्छ।”


प्रकाशित : २०८२ फागुन १३ गते २०:५५
Facebook Comment