ईस्लाम धर्मावलम्बीहरूको पवित्र महिना रमजान २०८२ को अवसरमा शुभकामना आदानप्रदान
रमा भण्डारी रामपुर, पाल्पा प्रकाशित : २०८२ चैत ४ गते १९:१४
चैत ३, पाल्पा
रमा भण्डारी, रामपुर
नयाँ वर्ष २०८३ तथा ईस्लाम धर्मावलम्बीहरूको पवित्र महिना रमजान २०८२ को अवसरमा रामपुर नगरपालिका–४ मा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। वडाको आयोजनामा बृहत् इफ्तार तथा विविध कार्यक्रमको आयोजना गरिएको थियो।
वडा नम्बर ४ का अध्यक्ष रामबहादुर रानाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रतिनिधि सभा सदस्य सन्दिप राना प्रमुख अतिथिको रूपमा उपस्थित रहनुभएको थियो। कार्यक्रममा बोल्दै प्रमुख अतिथि रानाले रमजान महिनाको विशेष महत्व रहेको उल्लेख गर्दै नेपाल बहुजातीय, बहुभाषिक तथा बहुसांस्कृतिक देश भएकाले सबैले आ–आफ्नो संस्कृतिलाई सम्मानपूर्वक मनाउने परम्परा रहेको बताउनुभयो।
उहाँले रमजान इस्लामिक पात्रो (हिजरी पात्रो) को नवौं महिना भएको स्पष्ट पार्दै यस अवधिमा मुस्लिम समुदायले रोजा (उपवास) बस्ने र महिनाको अन्त्यमा ईद उल–फितर पर्व मनाउने जानकारी दिनुभयो। सो अवसरमा नयाँ लुगा लगाउने, मिठाई खाने र एकअर्कालाई शुभकामना आदानप्रदान गर्ने परम्परा रहेको पनि उहाँले बताउनुभयो।
कार्यक्रम वडा सदस्य महमद ताजिम शेखको स्वागत मन्तव्यबाट सुरु भएको थियो। उहाँले पाल्पा बहुजातीय तथा विविध संस्कृतिको संगमस्थल भएकाले सबैले आफ्नो संस्कृति र परम्परालाई संरक्षण गर्दै मनाउनु पर्नेमा जोड दिनुभयो।
रामपुर नगरपालिकाका नगर प्रमुख रमणबहादुर थापाले वर्षभरि कमाइको २.५ प्रतिशत रकम गरिब तथा दुःखीको सहयोगमा खर्च गर्नु अत्यन्त महत्वपूर्ण कार्य भएको उल्लेख गर्नुभयो।
त्यसैगरी नेपाली कांग्रेस जिल्ला उपसभापति ज्ञानबहादुर गाहा, मुस्लिम संघका केन्द्रीय उपसभापति हुजिलदिन मियाँ, केन्द्रीय सचिव रैही मुल्लालगायतले मुस्लिम समुदायका अधिकार, धार्मिक धरोहर तथा शान्ति–सुरक्षाका विषयमा आफ्ना धारणा राख्नुभएको थियो।
कार्यक्रममा हमिद अली मियाँ, भिमसेन टोल विकास संस्थाका अध्यक्ष धनबहादुर श्रेष्ठलगायतले पनि शुभकामना व्यक्त गर्नुभएको थियो। कार्यक्रमको सञ्चालन वडा सदस्य मोहनसिंह रानाले गर्नुभएको थियो।
Facebook Comment