बैशाख १०, रामपुर (पाल्पा) — खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, पाल्पाको आयोजना तथा रामपुर उद्योग वाणिज्य संघको समन्वयमा खाद्य स्वच्छता तथा गुणस्तरसम्बन्धी सरोकारवालासँग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।
डिभिजन कार्यालय पाल्पाका प्रमुख नरेश श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा रामपुर क्षेत्रका करिब दुई दर्जन खाद्य उद्योगी, व्यापारी तथा व्यवसायीहरूको सहभागिता रहेको थियो। कार्यक्रममा व्यवसाय सञ्चालनका लागि आवश्यक प्रा.लि. तथा संस्था दर्ता, नवीकरण, सिफारिस, आवश्यक कागजात तथा विभिन्न निकायमा दर्ता–नवीकरण गर्दा आवश्यक समन्वय र करसम्बन्धी विषयमा जानकारी प्रदान गरिएको थियो।
कार्यक्रममा प्रमुख श्रेष्ठले जनजीविका सम्बन्धी सुधारपछिको सरकारको एक सय दिनको उपलब्धिअन्तर्गत ‘पेपरलेस अभियान’ सञ्चालनमा रहेको उल्लेख गर्दै अब अनलाइन माध्यमबाट राजश्व भुक्तानी गर्नुपर्ने व्यवस्था गरिएको जानकारी दिनुभयो। साथै, दर्ता भएका व्यापारी तथा व्यवसायीलाई नवीकरण र राजश्व भुक्तानीसम्बन्धी अनलाइन प्रणालीबारे जानकारी दिन तालिम आयोजना गरिएको बताउनुभयो।
उहाँले खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ अनुसार दर्ता, नवीकरण, निलम्बन, फुकुवा तथा अनुमति पत्र खारेजजस्ता प्रक्रियाका साथै संस्थागत तथा व्यक्तिगत रूपमा पूरा गर्नुपर्ने कागजात, खाद्य व्यवसायीको दायित्व, खाद्य वस्तुको भण्डारण तरिका, मिसावट तथा अखाद्य वस्तु बिक्री गरेमा लाग्ने दण्ड–जरिवानाबारे सचेत रहन आग्रह गर्नुभयो।
त्यसैगरी, स्थानीय तहले समेत खाद्य निरीक्षक राख्न सक्ने व्यवस्था रहेको उल्लेख गर्दै नियमित अनुगमन, नमुना परीक्षण तथा कैफियत भेटिएमा कार्यालयमार्फत मुद्दा चलाउन सकिने जानकारी दिनुभयो।
रामपुर उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष रुद्रनारायण श्रेष्ठको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन महासचिव खिम बहादुर केसी (पुरुषोत्तम)ले गर्नुभएको थियो।

प्रकाशित : २०८३ वैशाख १० गते १४:४४
Facebook Comment