दोहामा पाल्पाली सेवा समाजद्वारा श्रद्धाञ्जली सभा सम्पन्न

प्रवीण तिमल्सिना
प्रकाशित : २०८३ वैशाख १२ गते ०:५५

दोहा, कतार — पाल्पाली सेवा समाज दोहाको आयोजनामा २४ अप्रिल २०२६ का दिन भावपूर्ण श्रद्धाञ्जली सभा सम्पन्न भएको छ। समाजका अध्यक्ष विकास गैरेको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा नेपाली समुदायका विभिन्न संघसंस्थाका प्रतिनिधि तथा सर्वसाधारणको उल्लेख्य सहभागिता रहेको थियो।

कार्यक्रममा संस्थाका संरक्षक, प्रमुख सल्लाहकार, सम्मानित संरक्षक, संस्थापक सदस्य, सल्लाहकारहरू, कार्यसमिति पदाधिकारी तथा सदस्यहरू उपस्थित थिए। साथै लुम्बिनी समन्वय परिषद कतारका उपाध्यक्ष टेकराज थापा र बागलुङ सेवा समाज दोहा कतारका अध्यक्ष टेक रसाइली लगायत विभिन्न सामाजिक संघसंस्थाका प्रतिनिधिहरूको सहभागिताले कार्यक्रमलाई थप गरिमामय बनाएको थियो। पाल्पाली समुदायका दाजुभाइ तथा दिदीबहिनीहरूको उपस्थिति उल्लेखनीय रहेको थियो।

यसै संस्थाका पूर्व केन्द्रीय कार्यसमिति सदस्य स्वर्गीय शरण भुसाल र सोही स्थानका अर्का व्यक्तित्व स्वर्गीय तोयानाथ बस्यालको असामयिक निधनप्रति गहिरो दुःख व्यक्त गर्दै उनीहरूको ११औँ पुण्यतिथिको अवसरमा श्रद्धाञ्जली सभा आयोजना गरिएको हो।
दोहाको सनैया स्थित फूलबारी रेस्टुरेन्टको सभाहलमा सम्पन्न कार्यक्रममा सहभागीहरूले दिवंगतप्रति श्रद्धासुमन अर्पण गर्नुका साथै एक मिनेट मौनधारण गरेका थिए। कार्यक्रममा बोल्ने वक्ताहरूले दिवंगत व्यक्तित्वहरूको सामाजिक योगदान, सहयोगी भावना र सरल स्वभावको स्मरण गर्दै उनीहरूको अभाव सधैं खड्किरहने बताएका थिए। कार्यक्रममा शोकसन्तप्त परिवारप्रति गहिरो समवेदना व्यक्त गर्नुका साथै दिवंगत आत्माको चिरशान्तिको कामना गरिएको थियो।

 


प्रकाशित : २०८३ वैशाख १२ गते ०:५५


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology