पूर्वखोला गाउँपालिकाले विद्यालय समायोजन गर्ने निर्णय गरेको छ । पूर्वखोला गाउँपालिका–२ जल्पाको आर्गिडाडामा रहेको कमला प्राथमिक विद्यालय व्यवस्थापन समितिले विद्यालयमा हाल विद्यार्थी संख्या नभएको भन्दै विद्यालय समायोजन गरिदिन गाउँपालिकामा निवेदन पेश गरेको थियो ।
विद्यालयको निवेदन अनुसार स्थानीय सरोकारवालासँग गरिएको छलफल तथा जाँचबुझका क्रममा विद्यालयमा विद्यार्थी नभएको पुष्टि भएपछि गाउँ शिक्षा समितिको बैठकले उक्त विद्यालयलाई जल्पाकै शम्भु माध्यमिक विद्यालयमा समायोजन गर्ने निर्णय गरेको हो ।
निर्णय अनुसार समायोजनपछि कमला प्राथमिक विद्यालयका शिक्षक तथा शैक्षिक सामग्री शम्भु माध्यमिक विद्यालयमा हस्तान्तरण गरिनेछ भने विद्यालयको भौतिक संरचनाको सञ्चालन तथा संरक्षणको जिम्मेवारी आर्गिडाडा टोल विकास समितिलाई दिइने भएको छ ।
त्यस्तै, बैठकले शैक्षिक सत्र २०८२ को एसईई परीक्षामा A* प्राप्त गर्ने विद्यार्थी, पालिका स्तरीय कक्षा ८ परीक्षामा उत्कृष्ट अंक ल्याउने छात्रछात्रा, जनजाति तथा दलित विद्यार्थी, शिक्षक र विद्यालयलाई सम्मान गर्ने निर्णय गरेको छ ।
जिल्ला स्तरीय रनिङ शिल्ड प्रतियोगितामा स्वर्ण पदक जित्ने खेलाडीलाई गाउँसभामा सम्मान गर्ने, विद्यालय अनुगमनलाई प्रभावकारी बनाउने तथा विषयगत शिक्षकका लागि क्षमता विकास तालिम तथा गोष्ठी सञ्चालन गर्ने निर्णय समेत गरिएको छ ।
गाउँ शिक्षा समितिका अध्यक्ष नुनबहादुर थापाले बैठक समापन गर्दै शैक्षिक सिकाइ उपलब्धि वृद्धि गर्न विद्यालय व्यवस्थापन समिति र शिक्षकहरू निरन्तर सक्रिय हुनुपर्नेमा जोड दिनुभयो । साथै गाउँपालिकाले आवश्यक नीतिगत व्यवस्था र उचित बजेट व्यवस्थापनमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
प्रकाशित : २०८३ जेठ १ गते ११:२२
Facebook Comment