विद्यालयमा प्रविधि प्रयोग सम्बन्धि कार्यशाला झडेवामा सम्पन्न ।

माया बस्याल
प्रकाशित : २०७८ माघ २१ गते १९:२०

माघ २१ ,झडेवा,पाल्पा
माथागढी गाउँपालिका शिक्षा शाखाको आयाेजनामा वडा नम्बर ४,५, ६ , ७ र ८ प्राथमिक विद्यालयहरुका शिक्षकहरुलाई प्रविधि प्रयोग सम्बन्धी कार्यशाला माथागढी गाउँपालिकाकाे सभाहलमा सम्पन्न भएको छ ।
कार्यक्रमका प्रमुख अतिथि एवम् माथागढी गाउँपालिका अध्यक्ष सन्तोष कुमार थापाले तालिममा सिकेका कुराहरु विद्यालयमा फर्किएपछि व्यवहारमा लागू गर्नुपर्ने बताउनुभयो । उहाँले कतिपय विद्यालयहरुमा प्रविधि उपलब्ध नभएको भए कार्ययोजना प्रस्ताव पेश गरेमा गाउँपालिकाले उचित सम्बोधन गर्ने जानकारी दिनुभयो ।
कार्यक्रमका अध्यक्ष एवम् माथागढी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिनेश ज्ञवालीले शुभकामना मन्तव्य राख्दै गाउँपालिकाले तालिम सञ्चालनका क्रममा लिएकाे उद्देश्य पूरा भएको महशुस गरेको उल्लेख गर्नुभयो ।उहाँले काेभिडकाे विषम परिस्थितिमा समेत स्वास्थ्य मापदण्ड अपनाएर सञ्चालन गरिएको तालिम निकै प्रभावकारी भएको विश्वास गर्दै तालिममा सिकेका कुरालाई विद्यालयमा फर्किएर सिकाइ प्रयोग गर्न समेत सुझाउनुभयो । ज्ञवालीले समयको मागसँगै प्रविधि प्रयोगतर्फ अगाडी बढ्नुपर्ने कुरामा जोड दिनुभएको थियो ।
तालिम प्रशिक्षक युवराज तिवारीले आफूले पाएकाे ज्ञान सीप विद्यालयमा गएपछि सबै स्टाफ सहकर्मीहरुलाई समेत हस्तान्तरण गर्न अनुराेध गर्नुभयो ।
प्रशिक्षणमा सहभागी प्रशिक्षार्थीकाे तर्फबाट बोल्नुहुँदै कर्णधार प्राथमिक विद्यालयका शिक्षक शुशिला रानाले तालिमले विद्यालयका गतिविधिहरु डिजिटल प्रविधिमा लैजान सजिलो बनाएको बताउँदै प्राथमिक तहका सम्पूर्ण विद्यालयमा समेत इन्टरनेटको सुविधा व्यवस्थापन गरिदिन गाउँपालिकालाई आग्रह गर्नु भयो ।
६ दिन चलेको उक्त तालिममा लेटरहेड,परिक्षाफल सिट,विद्यार्थी परिचयपत्र बनाउने लगायतका अफिस प्याकेज सम्बन्धी आधारभूत ज्ञानहरु प्रदान गरिएको थियोे
तालिममा २८ वटा प्राथमिक विद्यालयका २८ जना शिक्षककाे सहभागीता रहेको थियो ।
कार्यक्रम माथागढी गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत दिनेश ज्ञवालीले अध्यक्षता र शिक्षा संयाेजक अशेष भट्टराईको सञ्चालनमा सम्पन्न भएको थियोे ।


प्रकाशित : २०७८ माघ २१ गते १९:२०


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology