“नागरिकलाई सुरक्षाको अनुभूति हुने गरी काम गर्छु” — प्रहरी निरीक्षक सुनार

रमा भण्डारी रामपुर, पाल्पा
प्रकाशित : २०८२ कार्तिक १८ गते १०:१९

 


रामपुर (पाल्पा), कार्तिक १६ – रमा भण्डारी

जिल्ला प्रहरी कार्यालय दैलेखबाट सरुवा भई इलाका प्रहरी कार्यालय रामपुरमा कार्यभार सम्हाल्न आएका प्रहरी निरीक्षक लालबहादुर सुनारले आइतबार सञ्चारकर्मीहरूसँग परिचयात्मक भेटघाट गरेका छन्।

भेटघाटका क्रममा प्रहरी निरीक्षक सुनारले शान्ति सुरक्षा सुनिश्चित गर्न प्रतिबद्ध भएर काम गर्ने बताएका छन्। उनले भने — “सर्वसाधारणले सुरक्षित महसुस गर्ने गरी काम गर्छु। सबैको साथ र सहयोगले मात्रै शान्ति सुरक्षाको वातावरण कायम गर्न सकिन्छ।”

सुनारका अनुसार उनले यसअघि तीन स्थानमा प्रहरी निरीक्षकका रूपमा काम गरिसकेका छन् र सो अनुभवका आधारमा प्रहरी सेवालाई अझ प्रभावकारी बनाउने योजना रहेको बताएका छन्।

उनका अनुसार लागू औषध नियन्त्रण, ट्राफिक व्यवस्थापन, अवैध तस्करी नियन्त्रण, हिंसा न्यूनीकरण लगायतका क्षेत्रलाई प्राथमिकतामा राखेर कार्ययोजना बनाई कार्यान्वयन गरिनेछ। उनले सञ्चारकर्मीहरूसँग सहकार्य गर्दै शान्ति सुरक्षा सम्बन्धी सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने बताए।

सञ्चारकर्मीहरूले पछिल्लो समय सूचना गोपनीयता कमजोर भएको विषय उठाउँदा उनले भनिन् — “सूचना स्रोतको संरक्षण प्रहरीको दायित्व हो। प्रहरी संगठनबाट गोपनीयता भंग हुन नदिने प्रतिवद्धता लिएको छु।”

उनका अनुसार पछिल्ला वर्षहरूमा आत्महत्या र साइबर अपराध बढ्दो क्रममा रहेका छन्। त्यसका लागि सरोकारवालाहरूसँग सहकार्य गर्दै सचेतनामूलक कार्यक्रम सञ्चालन गरिनेछ। साथै, सवारी सुरक्षा, बालविवाह, लैङ्गिक हिंसा र लागुऔषध नियन्त्रण सम्बन्धी जनचेतना कार्यक्रम पनि सञ्चालन गरिने योजना रहेको उनले बताए।

ट्राफिक व्यवस्थापनका सन्दर्भमा सुनारले ट्राफिक प्रहरीसँग संयुक्त चेकजाँच बढाउने, साथै मोडिफाइ गरेर ठूलो आवाज निकाल्ने मोटरसाइकल सञ्चालनमा रोक लगाउने बताएका छन्।

रामपुरका सञ्चारकर्मीहरूले चार जिल्लाको संगम र अर्धशहरी क्षेत्र भएकाले गस्ती बढाउन, करिडोरमार्गमा निगरानी कडाइ गर्न, लागुपदार्थ दुर्व्यसन नियन्त्रणमा जोड दिन, घरेलु हिंसा अन्त्यका लागि सचेतनामूलक कार्यक्रम सञ्चालन गर्न, बजार क्षेत्रमा सवारी पार्किङ व्यवस्थापन र सवारी चेकिङ सुदृढ गर्न सुझाव दिएका थिए।


 


प्रकाशित : २०८२ कार्तिक १८ गते १०:१९


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology